काठमाडौं-नेपाली मौलिक संस्कृति अन्तर्गत नौमती बाजाको संरक्षण,सम्बर्द्धन र प्रचार-प्रसार गर्ने उद्देश्यले नेपालमै पहिलो पटक आवाज ईन्टरनेशनल र सहयात्रा नेपालको संयुक्त आयोजनामा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” काठमाडौं स्थित राष्ट्रिय नाचघर जमलमा भब्य रुपमा सम्पन्न भएको छ ।
प्रतियोगितामा विभिन्न जिल्लाहरुबाट सहभागी सिन्धुली कला घर प्रथम, आठ मार्च सशक्तिकरण महिला नौमती बाजा समूह द्वितीय, लोक साँस्कृतिक महिला नौमती बाजा समूह तृतीय, सिर्जनशिल महिला नौमती बाजा समूह सान्त्वना हुन सफल भए भने अनुशासित समूह तर्फ सिर्खाली महिला पञ्चेबाजा समूह, उत्कृष्ट भेषभुषा तर्फ लिग लिग महिला नौमती बाजा समूह, प्रोत्साहन पुरस्कार तर्फ सुभारम्भ उद्यमी महिला समूह र मनाेरञ्जन नौमती बाजा समूह पर्न सफल भएका थिए ।
कार्यक्रममा महिला समाजसेवी मिना बज्राचार्यको अध्यक्षता रहेको थियो भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सभाको मुख्य सचेतक माननीय अनिता देवकोटा ,वरिष्ठ कलाकारहरु नारायण रायमाझी,चन्द्रकला शाह,प्राज्ञ दुर्गा रायमाझी,एभरेष्ट नेपाल कल्चरल ग्रूपका अध्यक्ष आरसी कोइराला लगायत दर्जनौं संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन आयोजक संस्था आवाज ईन्टरनेशनलका अध्यक्ष शशी शर्मा मजगैयाँले गरेका थिए । सोहि क्रममा अध्यक्ष मजगैयाँले मौलिक संस्कृतिको संरक्षणका लागि राज्य गम्भीर बन्नुपर्ने भन्दै मन्त्री र सांसदहरुको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सहयात्रा नेपालका संस्थापक अध्यक्ष दुर्गा रायमाझीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम निर्देशक चन्द्र शर्माले प्रतियोगिताका नियमहरु प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा वरिष्ठ सहनाईबादक बल बहादुर जैरु, चर्चित एरेन्जर आशिष अबिरल, तेजेन्द्र गुरुङ, जोगेन्द्र केसि लगायतको निर्णायक मण्डल थियो । कार्यक्रममा अग्रज कलाकार, चर्चित कलाकार, सहयोगीदाता र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
उक्त प्रतियोगितामा पुरस्कारहरू प्रथम पुरस्कार रु. ५५,५५५/- , द्वितीय पुरस्कार रू. ३३,३३३/- , तृतीय पुरस्कार रू. २२,२२२/- , सान्त्वना पुरस्कार रु.१५,०००/- , उत्कृष्ट समुह रू.१०,०००/- , अनुशासित समुह रू.१०,०००/- , उत्कृष्ट भेषभुषा रू.१०,०००/- तोकिएको थियो ।
कार्यक्रममा राष्ट्रिय नारी सम्मान – २०७९, खेलकुद, सञ्चार, समाजसेवा, राजनीति, स्वास्थ्य, शिक्षा, कलाकारितामा योग्दान पुर्याएका महिलाहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमलाई सफल पार्न सञ्चार संयोजकको रुपमा पत्रकार प्रकाश बराईली रहेका थिए ।






